प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यूची
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजकाे बैठकमा विभिन्न विधेयकहरू छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्बन्धी प्रस्ताव तथा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे छ ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नहुने कार्यसूची छ ।
यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

