नेपालका बाढी प्रभावितका पक्षमा धार्मिक नेताहरूले राहत र शान्ति अभियानलाई अगाडि बढाउने
गत भदाै १० गते (अगस्ट २६)मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल र नेपालीको शीघ्र पुनःस्थापनाको कामना गर्दै विश्वका विभिन्न देशका धार्मिक नेताहरूले एउटै मञ्चबाट सामूहिक प्रार्थना गरेका छन् ।
राष्ट्रियता, धर्म र सिद्धान्तका सीमाभन्दा माथि उठेर नेपालप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले पीडित नागरिकलाई सान्त्वना दिन सामूहिक प्रार्थना गरेका हुन् ।
अक्टोबर ३ मा हेभेन्ली कल्चर, वल्र्ड पीस, रेस्टोरेसन अफ लाइट (HWPL), इन्टरफेथ पीस फेडेरेसन नेपाल (IPFN) र हामी नेपाली ग्लोबलको सहकार्यमा जुममार्फत ‘नेपालका लागि विश्वव्यापी अनलाइन प्रार्थना सभा’ आयोजना गरिएकाे थियाे ।
कार्यक्रममा दक्षिण कोरिया, नेपाल, फिलिपिन्स, नाइजेरिया, भारत र डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशका करिब ३४० धार्मिक नेता तथा प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रम सेप्टेम्बर १९ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘नेपालको पुनःस्थापना र आशाका लागि संयुक्त प्रार्थना सभा’ को निरन्तरताका रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ ।
कोरियामा विभिन्न धार्मिक समुदायबीच बनेको ऐक्यबद्धतालाई विश्वव्यापी स्तरमा विस्तार गर्दै नेपालका बाढीपीडित नागरिकप्रति थप सहयोग र सहानुभूति जुटाउनु कार्यक्रमको उद्देश्य थियो।
कार्यक्रमको सुरुवात IPFN की उपाध्यक्ष सीमा खान र हामी नेपाली ग्लोबलको कोरिया च्याप्टरकी अध्यक्ष अम्बिकाको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि बाढी तथा विपद्का कारण ज्यान गुमाएकाहरूको सम्मानमा मौनधारण गरिएको थियो।
संयुक्त प्रार्थना कार्यक्रममा हिन्दू, क्याथोलिक, इस्लाम, बौद्ध, इसाई, कन्फ्युसियन र यहुदीलगायत आठ धार्मिक परम्पराका १३ जना धार्मिक नेताले आ–आफ्नो धार्मिक परम्पराअनुसार नेपालका लागि प्रार्थना गरेका थिए।
प्रार्थना सभामा सहभागीहरूले धर्म फरक भए पनि मानवीय पीडा समान हुने भन्दै विपद्को समयमा एकअर्काको दुःखमा साथ दिनुपर्नेमा जोड दिएका थिए ।

