कांग्रेस महाधिवेशनः आज नेतृत्व चयनका लागि मतदान

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ । बुधबार बन्दसत्र सकिएपछि नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुन लागेको हो ।

बिहान १० बजेदेखि सुरु हुने मतदानमा महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

महाधिबेशनबाट कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली प्रकाशन गरिसकिएको छ ।  

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि  निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । बरिष्ठ उपसभापति र महिला उपसभापतिमा भने विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन कमलादीमा केन्द्र रहेका छन् ।

Facebook Comments