चार प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको उल्लेख छ ।
त्यसैगरी हाल कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाँउमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
शुक्रबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
रातकाे समयमा तराईका धेरै भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा हुन सक्ने जनाएकाे छ।

