कांग्रेसको सभापतिमा भारी मतका साथ गगनकुमार थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएकाे छ । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएकाे निर्वाचनबाट आगामी चार वर्षीय कार्यकालका लागि थापा सभापति निर्वाचित हुनुभएकाे छ ।

थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै थापा सभापति बन्नुभएकाे हाे ।

निर्वाचन समितिको नतिजाअनुसार कुल ७,३१७ मतदाता रहेकोमा ७,०३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले ६,५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत (५.३५ प्रतिशत) प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भयो ।

यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५औँ महाधिवेशन गराएको हो ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यका छनाैटका लागि मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी छ । यसअघि बरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल निर्विराेध निर्वाचित भइसक्नुभएकाे छ । २२८ पदका लागि निर्वाचन भएकाे हाे । कांग्रेसकाे विधानमा केही पदाधिकारी र केन्द्रीय सदस्य भने सभापतिले मनाेनित गर्ने व्यवस्था रहेकाे छ ।

Facebook Comments