माैसमः देशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल कोशी, मधेश र बागमति प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

त्यस्तै कोशी, मधेश र बागमति प्रदेशका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

शनिबार देशको हिमाली र पहाडी  भू-भागमा साधारणतया बादल  लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने देशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना छ। 

शनिबारकाे राती कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ । 

Facebook Comments