सरकारले सिफारिश गरेका १३ मध्ये १० देशका राजदूतकाे नाम संसदीय समितिबाट अनुमाेदन
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले भारत, चीन लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमाेदन गरेकाे छ ।
समितिकाे बैठकले सरकारले सिफारिस गरेका १३ मध्ये १० वटा देशका लागि सिफारिस भएका राजदुतकाे नाम अनुमोदन गरेको हो । समितिले २ देशका लागि सिफारिस भएकाकाे नाम अस्वीकृत गरेकाे छ भने एक जनाकाे नाम हालका लागि हाेल्डमा राखेकाे छ ।

समितिबाट राजदूतका लागि अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी छन् । त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा. पद्माक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झा रहेका छन् ।
बैठकले साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरिएकाे हाे।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकाे हाे।
नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि सुनारको नाम अस्वीकृत गरिएकाे हो ।
यस्तै खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।
समितिबाट नाम अस्वीकृत भएपछि साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित उनीहरू राजदूतमा नियुक्त हुन सक्नेछैनन् ।
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने अनुमोदन गर्नेबारे संसदीय सुनुवाइ समितिले बुधबार निर्णय गर्न नसकेर ‘होल्ड’ मा राखेकाे छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले थापालाई राजदूत पदमा नियुक्त गर्न थप कागजपत्र आउन बाँकी रहेको र अध्ययन आवश्यक रहेकोले सरकारको सिफारिसलाई समितिको अर्को बैठकबाट टुङ्ग्याउने निर्णय गरेको हो।
सरकारले गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो । नेपालकाे इतिहासमै संसदीय समितिबाट प्रस्तावित राजदूतहरूकाे नाम अस्वीकृत भएकाे पहिलाे घटना भएकाे जिकीर गरिएकाे छ ।

