मनसुन बाहिरियाे, पश्चिमी वायूकाे प्रभावले केही स्थानमा वर्षा हुने संभावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिएकाे जनाएकाे छ । महाशाखाका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टाेवर २ भन्दा १२ दिन ढिलाे अर्थात् अक्टाेवर १४ मा नेपालबाट मनसुन बाहिरिएकाे हाे ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज शुक्रबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने तथा देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

