महानवमी पर्व मनाइँदै, तलेजु मन्दिर सर्वसाधरणका लागि खुल्ला

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाउने क्रम जारी रहेकाे छ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाउने प्नचलन रहेकाे छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरी महानवमी पर्व मनाउने गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाएर महानवमी पर्व मनाउने गर्दछन् । शक्तिपीठहरूमा आज नै हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने प्रचलन छ ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र कतिपयले भने महानवमीका दिनमा पनि बली दिने गर्दछन् ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका मनाउने गरिएकाे हाे ।

पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएकाे छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ भने देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ ।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एक दिन महानवमीमा मात्र खुल्ला गर्ने प्रचलन अनुसार आज पुजाआजाका लागि खुल्ला गरिएकाे छ ।

आज बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तलेजु भवानीको मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएकाे छ ।

Facebook Comments