भ्रष्टाचार एवं कुशासन हटाउन सामूहिक मेहनत आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार एवं कुशासन हटाउन सामूहिक मेहनत आवश्यक रहेकाे बताउनुभएकाे छ । २०८३ सालकाे विजयादशमीकाे अवसरमा सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे ।

प्रधानमन्त्री शाहले आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक रहेकाे उल्लेख गर्नुभएकाे छ।

साथै उहाँले इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्ने, परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेकाेमा जाेड दिनुभएकाे छ।

प्रधानमन्त्री शाहले जारी गर्नुभएकाे सन्देश

आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू

आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ।

यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

आज विजयादशमी मनाउँदै गर्दा

मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले

गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौं।

विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।

यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ।

अन्त्यमा, आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं।

जय दुर्गा भवानी !

Facebook Comments