बिर्तामोडमा आगलागीमा परी एक जनाको जलेर मृत्यु

झापाकाे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित गाडीहरूकाे मर्मत सम्भार गर्ने एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ०४:१० बजे बिर्तामोड नगरपालिका-४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।

आगलागीमा परी क्यान्टिनमा काम गर्ने जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।।

आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ०४:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा तथा नगद रु. एक लाख जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब रु. ३ लाख बराबरको क्षति भएको अनुमान गरिएकाे छ ।

यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य क्षति भएको थियो ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments