बिहीबारदेखि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबारदेखि विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले देशका हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहे पनि तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले सोमबार दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरेकाे छ । ।

साेमबार राती राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने तथा देशका बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा पनि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहीबार र शुक्रबार भारी वर्षा तथा हिमपातको सम्भावना

महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बदली रहनेछ । त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने तथा लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

शुक्रबार पनि देशभर अधिकांश स्थानमा बदली रहने तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेश र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ।

Facebook Comments