आज तीन प्रदेशमा आंशिक बादल लाग्ने, बाँकी भागमा माैसम सफा रहने

मंगलबार कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विहीबार र शुक्रबार वर्षा हुने

बिहीबार देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। यस्तै, लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेश र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ।

Facebook Comments