फ्लोरिडामा निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यमा आइतबार भएको निजी व्यावसायिक विमान दुर्घटनामा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना फ्लोरिडाको पाम बीच काउन्टीस्थित क्रेस्टहेभन आवासीय क्षेत्रमा स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे भएको थियो ।

दुर्घटनास्थलका सार्वजनिक तस्बिरहरूमा आवासीय सडकमा ठूलो खाल्डो परेको, आगो बलिरहेको तथा विमानका टुक्रा, कङ्क्रिट र अन्य भग्नावशेष छरिएको देखिन्छ। दुर्घटनाग्रस्त विमान लियरजेट ६० रहेको बताइएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो।

अन्तर्राष्ट्रय सञ्चारमाध्यमका अनुसार दुर्घटनाअघि विमान प्रतिसेकेन्ड सयौँ फिटको गतिमा तीव्र रूपमा तल झरिरहेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा आवासीय सडकमा सवारीसाधन गुडिरहेको अवस्थामा विमान एक्कासि लगभग ठाडो अवस्थामा जमिनतर्फ खस्दै ठूलो विस्फोटसहित आगोको मुस्लोमा परिणत भएको देखिन्छ।

दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले भिडियो अत्यन्तै स्तब्ध पार्ने खालको रहेको उल्लेख गर्नुभएकाे थियाे । दुर्घटनाको वास्तविक कारणबारे भने सम्बन्धित निकायबाट थप अनुसन्धान हुन बाँकी रहेको छ।

तस्वीर राेयटर्स

Facebook Comments