महानगरलाई कर तिर्न प्याराग्लाइडिङ कम्पनी तयार, उडान सुचारु हुने

कर नतिरे बुधबारदेखि प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिकाको चेतावनीपछि पोखराका प्याराग्लाइडिङ कम्पनीहरुले कर तिर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबा पोखरा महानगरपालिका र प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) वीच कर तिर्ने सहमति गरेका हुन् ।

सहमतिपछि भोली देखि बन्द गरिने भनिएको प्याराग्लाइडिङ उडान पूर्ववत रुपमा नै सञ्चालन हुने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार प्याराग्लाडिङ कम्पनीले नविकरण, नयाँ दर्ता र तिर्नुपर्ने कर एक हप्ताभित्रमा तिर्ने सहमति जनाएका छन् । सहमतिपछि आव २०७१/०७२ देखि रोकिएको ८६ हजार बाँकी रकम कम्पनीहरुले एक साता भित्र तिर्नेछन् ।

व्यवसायीले कर अस्वभाविक बृद्धि गरेको भन्दै महानगरसँग विरोध जनाएका थिए । महानगरले ५ हजार ५ सयको व्यवसायी कर एकै पटक ५० हजार पु¥याएपछि व्यवसायीले असहमति जनाउँदै कर तिरेका थिएनन् ।

वार्तापछि गण्डकी प्रदेश सरकारले महानगर मार्फत् लिने भनिएको थप १ लाख कर भने नलिने सहमति भएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिशी, उपमेयर मञ्जुदेबी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत पौडेल, बिभिन्न वडाका अध्यक्षहरु र नाका पदाधिकारीहरुका बिच भएको बार्तामा सहमति जुटेको हो ।

महानगरले पोखरामा संचालित ६० वटा कम्पनीहरुले अब देखि वार्षिक कर २५ हजार मात्रै बुझाउने सहमती समेत भएको छ । प्याराग्लाइडिङ कम्पनीहरुले कर बुझाए वापत महानगरले टेक अफ, ल्याण्डिङ, सडक र पार्किङलाई थप व्यवस्थित बनाउने भएको छ ।

Facebook Comments