मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा

मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङले ब्रिगेड व्वाईज क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । योसँगै मनकामना केबलकार पोखरा कपको सेमीफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा यसअघि जापानको रिस्सो युनिभर्सिटी, शसस्त्र प्रहरी वलको एपिएफ क्लव र क्यामरुनको डफिन्स टीम पुगिसकेका छन् ।

बुधबार भएको खेलमा निर्धारित ९० मिनेटमा १÷१ को बराबरी र थपिएको ३० मिनेटमा दुबै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पदम भट्टराईको प्रहार बिपक्षी गोलकिपर बिशाल श्रेष्ठले बचाउ गरेपछि ब्रिगेड ब्वाइज पराजित हुन पुगेको हो ।

पेनाल्टी सुटआउटको पहिलो प्रहार गर्न पुगेका भट्टराईको श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै मनाङलाई जित दिलाए । पेनाल्टी सुटआउटमा मनाङका कप्तान सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माले गोल गरे भने ब्रिगेड ब्वाइजका तर्फबाट सुरज ठकुरी, रणदीप पौडेल, जय गुरुङ र मनोज राईले गोल गरे ।

प्रतियोगिता अन्तर्गत विहीबार पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लव र जापानको रिस्सो युनिभर्सिटी बिच प्रतिष्पर्धा हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म हुने प्रतियोगितामा बिजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने एन्फा कास्कीले जनाएको छ ।

उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments