पोखरामा माघ १ देखि सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ७ प्रदेश र ३ विभागीयसहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिनुभयो ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको पोल ‘ए’ मा एपीएफ क्लव, प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेश, पोल ‘बी’ मा प्रदेश नं. ५, प्रदेश नं. २ र कर्णाली प्रदेश, पोल ‘सी’मा त्रिभूवन आर्मी क्लब प्रदेश नं. ३ तथा पोल ‘डी’मा नेपाल पुलिस क्लव र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले १ लाख ७० हजार, तृतीयले १ लाख र सान्त्वना टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाण पत्र तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने अनुमान गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टिमहरुलाई दैनिक भ्रमण खर्च, यातायात खर्च र ट्रयाक सुटसहित अन्य सम्पूर्ण खर्च प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments