सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन प्रचण्डले गर्ने
पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म आयोजना हुने सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ ।
कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र÷छात्रा भलिवल प्रतियोगिता’को उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गर्नुहुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो । प्रतियोगिता माघ ८ गतेदेखी हुने भएपनि ९ गते औपचारिक कार्यक्रम गरेर पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराले प्रतियोगिताको संयुक्त आयोजना गरेका हुन् । सहभागिताका लागि माघ ५ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराईसक्नुपर्ने जनाइएको छ । आयोजकका अनुसार हालसम्म १८ विद्यालयले नाम दर्ता गरिसकेका छन् ।
दश जोड दुई सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगितामा छात्र तथा छात्रा दुबैमा ५०÷५० विद्यालयले सहभागिता जनाउने आयोजकको दाबी छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघले जनाएको छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

