आहा रारा गोल्ड कप फागुन दोस्रो साता हुने, पुरस्कार राशि वृद्धि

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण फागुन दोस्रो साता हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी फागुन ९ देखि १८ सम्म पोखरा रंगशालामा प्रतियोगिता हुने जानकाराी गराएको हो ।

क्लबले प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता विजेताले यसपालि ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अघिल्लो संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै प्रतियोगितालाई निरन्तरता दिन लागिएको हो । रंगशाला बाहेकको विकल्प नसोचको भन्दै उहाँले अस्थायी प्याराफिट निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुनेछ । विदेशी टिमको छिनोफानो हुनेक्रममा रहेको आयोजकले जनाएको छ । विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको मिति घटेर यसपालि १० दिन तय भएको छ । प्रतियोगिताकै अवसरमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान वापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, फेयर प्लेयरलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको ट्रफी, मेडल, म्यान अफ दी म्याचको पुरस्कार प्रायोजन सहारा यूकेले गरेको छ । शनिकार नै ट्रफी सहारा युके महासचिव धनु थकालीले प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।

प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गर्ने लक्ष आयोजकको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको छ ।

Facebook Comments