धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । फाउन्डेसन र भरतपुर महानगरबीच अन्तर्राष्ट्रिय मापदण्ड सहितको रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
राष्ट्रियसभा गृह काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमका वीच रंगशाला निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेकामा क्रिक्रेट रंगशाला निर्माणका लागि फाउण्डेशनलाई जग्गा उपलब्ध गराइको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने गुरुयोजना तयार भएको २ बर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिनुभयो ।
रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखिने भएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । कट्टेलका अनुसार देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोग आह्वान गरिने छ । यसअघि फाउण्डेसनले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएको थियो ।

