पोखरा शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी: मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताउनुभएकाे छ।
पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण बनाइरहेको बताउनुभयाे ।
प्रदेश समृद्धिको आधार पर्यटन नै भएकाले शिक्षा र स्वास्थ्यलाई पनि सँगै जोडन लैजान सकिने उहाँको भनाइ थियो । भौगोलिक हिसावले पोखरामा ठूला उद्योग र कलकारखाना स्थापनाको सम्भावना नभएकाले शिक्षा र स्वास्थ्यलाई नै जोड दिइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयाे ।
प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा मनोरम पोखरामा स्वदेशका मात्र नभए विदेशका विद्यार्थी आकर्षित गर्ने गरी शैक्षिक संस्था सञ्चालनका लागि उनले निजी क्षेत्रसँग आग्रह गर्नुभयाे ।
हाल पोखरामा २ वटा मेडिकल कलेज सञ्चालनमा रहेका र गण्डकी र पोखरा विश्वविद्यालय पनि मेडिकल कलेज चलाउने तयारीमा रहेकाले त्यसपछि विशेषज्ञ सेवाका लागि पनि पोखरा सक्षम हुने उहाँको भनाइ थियो ।
नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको भन्दै कोभिडले स्वास्थ्य प्रणाली सुधारका लागि पाठ सिकाएको मुख्यमन्त्री पोखरेलले बताउनुभयाे ।
प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकार लागिरहेको भन्दै कास्की अब केही दिनमा कास्की पूर्ण खोपयुक्त हुन लागेको जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिले १ लाख ४० हजार डोज खोप आएको छ, कास्कीमा खोप लगाउने तालिका पनि सार्वजनिक भइसकेको छ, १८ वर्ष उमेरमाथिका सबैले खोप पाउने निश्चित भइसकेको छ ।’
पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले स्वास्थ्य सेवालाई सहज बनाउन सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनुभयाे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले नागरिकको स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न सरकार सदा प्रतिबद्ध रहेको बताउनुभयाे ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराको सुन्दरताको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयाे ।
प्रदेश सभा सदस्य राजीव पहारीले निजी तबरबाट सञ्चालित शैक्षिक र स्वास्थ्य संस्थाहरुको योगदानको मूल्यांकन राज्यस्तरबाट हुन नसकेको बताउनुभयाे ।
चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिका अध्यक्ष कपिल पोखरेलले पोखरामा शिक्षा र स्वास्थ्यको सम्भावना देखेर नै दक्ष जनशक्ति उत्पादनका लागि कलेज सञ्चालनमा ल्याइएको बताउनुभयाे ।

