कांग्रेस महाधिवेशनमा ३ प्रतिवेदन पेश, नेतृत्व चयन प्रक्रियामा जाँदै
नेपाली कांग्रेसको १४औं महाधिवेशनको जारी बन्दसत्रमा तीन प्रतिवेदन पेश भएकाे छ । शुक्रबार अवेर नीति, अनुसन्धान तथा अध्ययन प्रतिवेदन, संगठन महाधिवेशन र आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भएको थियाे।
शुक्रबार राति ९ बजेदेखि भृकुटीमण्डपमा भएकाे बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति, अनुसन्धान तथा अध्ययन प्रतिवेदन, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले बनाएको संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आर्थिक प्रतिवेदनमा छलफल भएको हाे ।
बन्दसत्रमा पदाधिकारी, केन्द्रीय सदस्य र ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। सबै प्रतिवेदनमाथि छलफल गरेर शुक्रबारै ती प्रतिवेदन अनुमोदन गर्दै बन्दसत्र सक्ने कार्यक्रम छ। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शनिबारदेखि शुरू हुँदैछ । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर काेइराला, कल्याण गुरूङ लगायतले उम्मेदवारी दिने बताएका छन् । देउवा र निधि सभापतिमा उठ्ने निश्चित भएपनि पाैडेल इतर समूहकाे एउटै उम्मेदवार बनाउने पहल भइरहेकाे छ । यद्यपि सहमति हुन नसकेकाे बताइएकाे छ ।

