माओवादी केन्द्रकाे प्रदेश सम्मेलन हुँदै
नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशकाे एकैसाथ सम्मेलन हुन लागेको हो।
प्रदेश अधिवेशनको दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने माओवादी केन्द्रले जनाएकाे छ ।
माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।
प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूर पश्चिम प्रदेशको धनगढीमा सम्मेलन गर्न लागेकाे यसअघि शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएकाे थियाे ।
उपत्यका विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्नेछन् । सम्मेलनबाट ९ पदाधिकारीसहितको प्रदेश कमिटी चयन हुनेछ। प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी ९ जना पदाधिकारी रहनेछन् ।
प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूर पश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ। विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुने माओवादी केन्द्रकाे स्थायी कमिटीले तय गरेकाे छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ।

