कांग्रेस महाधिवेशनः नेतृत्व चयनका लागि मतदान हुँदै
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्दैछन् । एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएकाे छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ३४ पदका लागि ५ सय ४८ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिए भने प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भइसकेका छन् ।
मतदानका लागि राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ गरी तीन मतदान केन्द्र ताेकिएकाे छ । सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

