पोखरामा सम्पत्ति शुद्धीकरण सम्बन्धी छलफल
गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ: सचिव गौतम
प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताउनुभएकाे छ । गाैतमले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार पोखरामा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सचिव गौतमले यस्ताे बताउनुभएकाे हाे ।
आफूले गरेको कारोबार शुद्ध बनाउन, आफूसँग सहकार्य गर्ने व्यक्तिको सम्पत्तिको स्रोतबारे स्पष्ट हुन पनि आग्रह गर्नुभयाे ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून देखाएर असल काम गरिरहेका व्यवसायीहरुमाथि दुःख दिन नहुने धारणा राख्नुभयाे ।
उहाँले कानूनी जटिलताका कारण धेरै व्यवसायीहरु थप दण्ड र जरिवानामा परिरहेको बताउँदै सचेतनामूलक कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिनुभयाे ।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सबैको सुझावको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानून बन्ने बताउनुभयाे ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुसन्धानको दायरामा आउँदैमा अपराधी करार गरियो भन्ने मानसिकताबाट मुक्त हुन व्यवसायीलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सम्पत्ति शुद्धीकरण विभागका निर्देशक तेजप्रसाद प्रसाईंले सम्पत्ति आर्जन गर्नु अपराध नभए पनि त्यसको गलत व्यवस्थापन गर्नु अपराध भएको बताउनुभयाे ।
सम्पत्ति लुकाउने वा छल्ने, हस्तान्तरण वा रुपान्तरणमा जालझेल गर्ने,स्वामित्व लुकाउने,कसुरबाट सम्पत्ति प्राप्त गर्नु नै अपराध भएको उहाँको भनाई थियो ।

