एमालेले चुनाव नहुँदासम्मै संसद अवरोध गर्ने
नेकपा एमालेले संघीय संसदमा जारी अवरोध कायमै राख्ने छनक दिएकाे छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनुभएकाे हाे ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उहाँले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताउनुभएकाे हाे ।
अध्यक्ष ओलीले प्रतिपक्षी दलकाे अवरोधका बाबजुद बलजफती संसद चलाइएको टिप्पणी गर्नुभयाे । सभामुखप्रति लक्षित गर्दै उहाँले भन्नुभयाे, ‘बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ ।
गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले गएकाे भदाै २३ देखि लगातार संसद अवरोध गर्दै आएको छ ।
एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेकाे आरोप छ । ओलीले चुनाव जहिले भए पनि एमालेले जितेर आउने दावी गर्नुभयाे ।

