माओवादी केन्द्रकाे महाधिवेशनः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रतिवेदन पास

नेकपा माओवादी केन्द्रकाे महाधिवेशनकाे बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रतिवेदन पास गरेकाे छ । प्रतिवेदन पास हुनुअघि सहभागीले उठाएका प्रश्न र फरक मतबारे अध्यक्ष प्रचण्डले जवाफ दिनुभएकाे थियाे ।

साे क्रममा उहाँले प्रतिवेदनमा धेरै परिवर्तन नहुने तर सहभागीका सुझावहरू भने समेट्ने बताउनुभयाे । उहाँले आफ्नाे डेराबारे धेरै प्रश्न उठेकाे भन्दै खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार रहेको बताउनुभयाे ।

आठौं महाधिवेशनअन्तर्गत आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उक्त डेरा छाड्न सुझाव दिँदै अध्यक्ष बस्ने घर कार्यकर्ताहरूले नै बनाइदिने बताएका थिए।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ। विधान संशाेधन प्रस्तावमाथि शनिबार छलफल हुने बताइएकाे छ । त्यस्तै नेतृत्व चयनकाे प्रक्रिया पनि शुरू हुँदैछ ।

Facebook Comments