चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उहाँले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पार्नुभयाे ।
कास्कीको मादी गाउँपालिकामा १२ वटै वडामा समान ढंगले बिकास गर्ने उहाँकाे भनाइ छ । २०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने उहाँको भनाइ थियो । मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाउनुभयाे ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाउनुभयाे । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङको भनाइ थियो ।
एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो ।

