माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
आठौं महाधिवेशनबाट चुनिएको २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो ।
ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गर्नुभएकाे थियाे भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गर्नुभएकाे थियाे ।
अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।
यसैवीच अध्यक्ष प्रचण्डले महाधिवेशनले सर्वसहमतिका साथ नेतृत्व चयन गरेकामा मिडियामा नकारात्मक टिप्पणी भएकाेमा गुनासाे व्यक्त गर्नुभएकाे थियाे । प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गरेकाे उहाँकाे भनाइ थियाे ।
उहाँले अगाडि भन्नुभयाे, ‘प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गरेकाे हाे ।’

