त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोडको सुन र आइफोनसहित तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको अवैध सुन र ४ वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट सुनर ४ वटा मोबाइलसहित तीन जनालाई नियन्त्रणमा लिएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्।
दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको चार वटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको प्रहरीले जनाएको छ।
दुबईबाट हिमालयन एयरबाटै बुधबार काठमाडौं आएका परियारकाे साथबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको प्रहीले जनाएकाे छ ।
यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट भने एक किलाे ५५ ग्राम सुन बरामद गरेकाे प्रहरीले जनाएकाे छ । जसकाे मुल्य ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ हुने बताइएकाे छ ।
शेर्पाले सुनलाई अर्धठोस बनाएर तीन वटा पोकामा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको जनाइएकाे छ । प्रहरीका कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद भएकाे छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाे छ ।

