राष्ट्रियसभामा २० सदस्यकाे पदावधि समाप्त
राष्ट्रिय सभाका २० सदस्यकाे पदावधि आज सकिंदैछ । गाेला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि आजदेखि समाप्त हुन लागेकाे हाे ।
कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरूमा नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना रहेका छन् ।
एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।
यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।
माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको कार्यकाल सकिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि आजैबाट समाप्त भएको छ ।
२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार पदावधि सकिने सांसदहरूकाे रिक्त स्थानमा गत माघ १२ मा भएकाे निर्वाचनबाट १९ जना सदस्यहरू चयन भइसकेका छन् ।

