माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन र समसामयिक बिषयमा छलफल हुने
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने भएकाे छ । साथै पदाधिकारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति चयनका बिषयमा समेत बैठकमा छलफल हुने बताइएकाे छ ।
बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयाे ।
समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषय बैठकमा एजेण्डा रहेका छन् । माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।
माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोननयन गरेकाे छैन । पछिल्ला दिनमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पक्षमा मतदान गरेका कारणा विवाद चुलिएका बेला बैठक बस्न लागेकाे हाे ।
पार्टी नै विभाजन हुने आशंकाका कारण असन्तुष्ट नेतासँगकाे छलफललाइ समेत अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले तीव्रता दिनुभएकाे छ ।
एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमति छ । संसद बैठकमा समेत श्रेष्ठ निकट नेताहरूले विराेध जनाएका थिए । बैठकमा सहभागी हुने श्रेष्ठ पक्षले जनाएकाे छ ।

