सार्दीखोलामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास
सडक, पुल निर्माण भएसंगै उत्पादन गर्न मन्त्री बरालको आग्रह
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ र ३ सहित पालिका जोड्ने मार्दीखोला मोटरेवल पुलको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले राज्यको लगानीमा पालिकाहरुमा सडक तथा पुल निर्माणमा भएको लगानी स्वरुप स्थानियहरुले समेत आफ्नो गाँउ ठाँउमा माटो सुहाउदो उत्पादन गर्नैपर्नेमा जोड दिनुभएकाे हाे ।
माछापुच्छ्रे गाउँपालिकामा तीन वटा पुलहरु निर्माण गर्ने सन्दर्भमा रिभान खहरे र डाडाँगाउँ र भेडावारी जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको छ, अझै माछापुच्छ्रे गाउँपालिकाको चक्रपथ तथा रिङ रोडको हिसावले धिप्राङखोला र मर्दी खोलामा पुल बन्न आवश्यक भएको उहाँकाे दाबी थियाे ।
दुबै पुलको डिपिआर समेत निर्माण भएकोले आगामी बर्षमा बहुबर्षीय योजनामा अघि बढ्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । संघियताको कारण उक्त क्षेत्रमा पुलहरु निर्माण हुने वातावरण भएको उहाँको भनाई थियो ।
प्रदेश सरकारले आन्तरिक श्रोतको दायराको खोजि गरेको बताएका मन्त्री बरालले करको दर भन्दा यसको दायराको खोजि अभियानमा आफुहरु लागेको बताउनुभयाे ।
ठेक्का कम्पनीहरुले लागत स्टमेट भन्दा घटेर ठेक्का पार्ने तर काम भने समयमै र गुणस्तरीयतामा भने ख्याल नगरेमा उनीहरु उपर सरकारले कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिनुभयाे ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिक्रम गुरुङ, माछापुच्छ्रे ३ का अध्यक्ष सुर्य प्रसाद लम्साल, नेपाली कागेंसका प्रतिनिधि मिन बहादुर गुरुङ, माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रविना अधिकारी, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ का सचिव एकनाथ पौडेल लगायतले मन्त्री बरालकै बिषेश पहलमा उक्त पुल निर्माण हुने भएकोले बाँकी रकम समेत व्यबस्था गर्न माग समेत गरेका थिए ।

