कोरोना संक्रमित बढ्दै, ५४० जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा संक्रमितकाे संख्या बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।
पुस १८ गते यता हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । पुस १८ मा २ सय १६ जनामा संक्रमण पुष्टि भएकाेमा पुस १९ मा ३ सय २६, पुस २० मा ३ सय ९६ र पुस २१ गते ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हाे । यसरी हेर्दा हरेक दिन संक्रमितकाे संख्या बढिरहेकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ७१ रहेको छ भने एक जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ पुगेको छ ।
हालसम्म ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ रहेकाेमा ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् बाँकी होम आइसोलेसनमा रहेका छन् ।

