कास्कीमा छुटेका सुकुम्बासीले पुनः नाम दर्ता गर्न पाउने
कास्कीमा छुटेका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोगले नाम दर्ता गर्न पुनः अवसर दिने भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेलले सोमबार पदबहाली गर्दै आयोगले पहिले दिएको समयमा नाम दर्ता गराउन छुटेका सुकुम्बासीलाई कास्कीमा पुनः नाम दर्ताका लागि अवसर दिने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘विगतमा लगत छुट भएकालाई हामी पुनः लगत दर्ता गर्न अवसर दिन्छौं, त्यसका लागि चाँडै आह्वान गर्छौं ।’
अध्यक्ष पोखरेलले कास्कीमा सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास छैन भन्ने बनाउने घोषणा गर्नुभयाे । अब कहिलेपनि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास छैन भन्ने बनाउनका लागि पहल गर्छु । संघ, प्रदेश र स्थानिय तहदेखि प्रशासन र सरोकारवाला सबैकाे सहयाेग भएमा मात्र साे कार्य सफल हुने उहाँकाे भनाइ थियाे । उहाँले आयोगको कार्यविधी र ऐन भित्र रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

