फिफा विश्वकपः मोरक्को र पाेर्चुगल क्वाटरफाइनलमा
माेरक्काे र पाेर्चुगल कतारमा जारी विश्वकप फुटबल २०२२ काे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सन् २०१०काे विश्वकप विजेता रहेकाे स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे । गोलकिपर यासिन बोनोले स्पेनका खेलाडीले प्रहार गरेका दुई पेनाल्टी बचाएपछि मोरक्को विजेता बन्याे ।
मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिम हाे । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
त्यस्तै मध्यराति भएकाे पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलमा पाेर्चुगल विजेता भएकाे छ । स्वीट्जरल्याण्डमाथि ६-१ को जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।
पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे। पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअो र पेपेले १-१ गोल थपेका हुन् । रामाेस यस विश्वकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् । माेरक्काे र पाेर्चुगलले सेमीफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघि फ्रान्स, इंगल्याण्ड, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्डस् र क्राेयसिया क्वाटरफाइनलका लागि प्रवेश गरिसकेका छन् ।
डिसेम्बर ९ मा क्राेयसिया र ब्राजिल, डिसेम्बर १० मा माेरक्काे र पाेर्चुगल तथा नेदरल्याण्डस् र अर्जेन्टिना, डिसेम्बर ११ मा फ्रान्स र इंगल्याण्डवीचकाे सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

