स्थानीय निर्वाचनः दलहरू प्रचारमा व्यस्त

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले आफ्नो सम्पूर्ण शक्ति प्रचार प्रसारमा लगाएका छन् । सत्ता गठबन्धनले कतै संयुक्त, कतै एकल उम्मेदवारी दिएर चुनावी प्रचारमा केन्द्रित छन् ।

त्यस्तै प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्ना सबै शक्ति स्थानीय तह निर्वाचनमा लगाएको छ । गठबन्धनका दलहरुलाई भन्दा एमालेमा पार्टीको आन्तरिक व्यवस्थापन सहज देखिएको छ ।

यद्यपि कतिपय स्थानमा आंकाक्षीहरुलाई टिकट पक्का भएपछि पनि ब्याक गरेको तथा गुटगत लडाईंले उम्मेदवारहरु आशंकित छन् ।

तर गठबन्धनमा भने आफ्ना उम्मेदवार नभएपछिको असन्तुष्टी व्याप्त छ । खासगरी चितवनको भरतपुरमा कांग्रेसका केही पुराना नेताहरु असन्तुष्ट बनेर जग्गनाथ पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेका छन् ।

उता पोखरामा भने मेयर र उपमेयरमा सहमति गरेपनि वडाहरुमा कांग्रेसले आडम्बर देखाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । जसका कारण आइतबार पोखरामा हुने संयुक्त सभामा सहभागी हुने संभावना कम ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले पोखरामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै दाङकाे घाेराहीमा आइतबार नै हुने कार्यक्रममा पनि शीर्ष नेताहरूले सम्बाेधन गर्ने बताइएकाे छ ।

एमालेका अध्यक्ष केपी शर्माओलीले स्थानीय तह निर्वाचनको सन्दर्भमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ । त्यस्तै एमालेले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आइतबार चितवनको भरतपुर र बुटवलमा सभा गर्दैछ सोमबार पोखरामा पनि चुनावी सभा गर्दैछ ।

चुनावीसभालाई एमालेका अध्यक्ष केपी शर्माओली लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । सत्ता गठबन्धनले यसअघि भरतपुर, बुटवल, जनकपुर लगायतका स्थानमा संयुक्त सभा गरिसकेका छन् ।

यसअघिको निर्वाचनमा पहिलो भएको नेकपा एमाले यसपटक पनि आक्रामक प्रचारका साथ पहिलो हुने होडवाजीमा छ । उसले ३ नै तहमा एमालेले नेतृत्व गरेमा मात्र मुलुकको विकास हुने दलिल अगाडि सारेको छ ।

गठबन्धनका दलहरुले भने एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारी रुपमा संसद विघटन गरी संविधान, गणतन्त्र, संघीयतामाथि नै धावा बोल्न खोजेकाले आफूहरुको सहकार्य भएको बताउने गरेका छन् ।

संविधानको रक्षाका लागि गठबन्धन भन्ने तर्क ति दलहरुको छ । कतिपय स्थानमा भने मतदाताहरु निराश भएर होला स्वतन्त्र उम्मेदवारहरुको क्रेज देखिएको छ । जसको पछिल्लो उदाहरण पोखरामा अटेरी अभियानका गनेश पौडेल तथा काठमाण्डौमा बालेन शाहको अभियान बनिरहेको छ ।

Facebook Comments