शान्ति सुरक्षा मजबुत पार्न प्रविधिमा जोड
गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको वार्षिक समिक्षा बैठक सोमवार पोखरामा सम्पन्न भएको छ । वैठकमा बोल्ने अधिकांशले प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न सकिने बताएका थिए ।
सबै ठाउँमा सिसि क्यामरा जडान गर्न सके चोरीको घटनामा कमि ल्याउन सकिने र चोरी डकैती भए सजिलै पक्राउ गर्न सकिने बताइएको थियो । यस्तै सडक दुर्घटना तथा विचबाटोमा सवारी बिग्रदा यात्रुहरु घण्टौं जाममा पर्नु परेको भन्दै मन्त्रालयले क्रेन र सवारी साधन बोक्ने सवारीको ब्यबस्था गर्न सके राजमार्गहुने घण्टौं जाम घटाउन सकिने बताइएको थियो ।
बैठकमा बोल्दै आन्तरिक मामिला मन्त्री डाेवाटे विश्वकर्माले आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी शान्ति सुरक्षा, राहत र उद्दार रहेको बताउनु भयो । संविधानले प्रदेशलाई दिएको अधिकारपनि संघिय सरकारले दिन नमान्दा अहिले समस्या आएको उहाँको भनाई थियो । संघिय सरकारले प्रदेशलाई प्रहरीको अधिकार नदिए सातै प्रदेशमा चुनावनै प्रभावित हुने गरेर आन्दोलन हुन सक्ने तर्फ सरकार गम्भीर बन्नु पर्नेमा जोड दिनु भयो ।
मन्त्री विश्वकर्माले बैठकमा उठेको प्रसङमा पोखरामा सिसि क्यामरा जडानको लागि महानगरसग कुराकानी भैरहेको जनाउनु भयो । प्रदेश नीति तथा आयोगका सदस्य डाक्टर सुभास अधिकारीले सुरक्षाकर्मीलाई साधन स्रोत र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले नेपाल आएका विदेशीले हतियार सहितका सुरक्षाकर्मी देख्दा शान्ति सुरक्षा कमजोर भएको महसुस गर्ने गरेको जनाउदै आफु पाँच बर्ष चीनबस्दा एकदिनपनि हतियार सहित सुरक्षाकर्मी नदेखेको बताउनु भयो ।
मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सिमित स्रोत साधनको बाबजुद पनि गण्डकी प्रदेशको कान्छो मन्त्रालयले भौतिक र वित्तियमा प्रगती राम्रो गरेको बताउनु भयो ।अहिले पनि प्रदेश मातहात प्रहरी नभएकोले सुरक्षामा गरेको खर्चमा महालेखाले प्रश्न उठाउने गरेको उहाँको भनाई थियो ।
बैठकमा ३ नम्बर बाहिनी भगबती गणका सेनानी समिर बस्नेत,गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक मीनबहादुर घले लगायतले आआफ्नो भनाई राख्नु भएको थियो । मन्त्रालयको तर्फबाट गत आर्थिक बर्ष गरिएको कार्यहरुको बजेट र कार्यक्रम बारे जानकारीको साथै चालू आबको कार्यक्रम बारे अबगत गराईएको थियो ।

