आम निर्वाचन २०७९ः दलहरु समानुपातिक सांसद छान्दै
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट संख्या निर्धारण गरी सांसद चयनका लागि पत्राचार गरेपछि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् ।
प्रत्यक्षतर्फ अधिकांश पुरुष उम्मेदवार विजयी भएका कारण समानुपातिकबाट प्राय दलले महिलाको संख्या धेरै चयन गर्नुपर्ने हुन्छ ।
संविधानमा नै ३३ प्रतिशत महिला पुर्याउनुपर्ने प्रावधान छ । जसले गर्दा समानुपातिक तर्फ महिला सांसद धेरै चुनिने निश्चित छ ।
दलहरुले यसअघि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेको प्राथमिकता र क्लष्टर मिलाएर समानुपातिक तर्फको सांसद चयन गर्नुपर्ने हुन्छ ।
महिला, दलित, जनजाति, खसआर्य, पिछडिएको जाति समुदाय लगायत सबै क्षेत्रको समावेशी प्रतिनिधित्व पनि अधिकत्तम मिलाउनुपर्ने भएकाले दलहरुलाई सांसद छान्न नै सकस पर्ने छ ।
त्यति मात्र नभई समानुपातिक सूचीमा रहेकाहरु सबैले आफूलाई छनौट गर्न पार्टी नेतृत्वलाई दबाव दिइरहका छन् ।
पार्टी नेताहरुको निवासमा यतिबेला आफूलाई समानुपातिक सांसद बनाईदिन भन्दै जानेहरुको घुँइचो लाग्ने गरेको छ ।
प्राइमरी इलेक्सनका आधारमा उम्मेदवारको प्राथमिकता सूची बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा समेत धर्ना दिने लगायतका काम भइरहेको छ ।
दलहरुले प्राथमिकता सूचीमा राखेको आधारमा क्लष्टर मिलाएर उम्मेदवार चयन गरेर पठाउनुपर्ने हुन्छ ।
सूचीमा अगाडी रहेकाहरुलाई छाडेर पछाडि रहेकालाई उम्मेदवार चयन गर्न निर्वाचन आयोगले बनाएको ऐन कानुनले रोक लगाएको छ ।
दलहरुले ३ दिनभित्र उम्मेदवारको सूची बुझाउनुपर्ने भनेकाले अधिकांश दलले आज समानुपातिक तर्फको सूची बुझाउने तयारी गरेका छन् ।

