शिक्षण संस्था र वित्तीय संस्थामा पनि आइतबार विदा हुने

बैंक तथा वित्तीय संस्था र शिक्षण संस्था समेत आइतबार बन्द हुने भएका छन् ।

सरकारले शनिबार र आइतबार हप्ताकाे २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शिक्षण संस्था र वित्तीय संस्थामा समेत साेही नियम लागू हुने भएकाे हाे ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

अबदेखि कार्यालय समय भने ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म हुनेछ ।

०७९ सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोवार गर्ने शाखा /काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार र आइतबार हप्ताकाे २ दिन सार्वजनिक विदा दिने निर्णय शिक्षण संस्थामा पनि लागू गर्ने बताएकाे छ ।

तर शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने मन्त्रालयकाे निर्णय छ ।

सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय मन्त्रालयले गरेको हाे ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

Facebook Comments