मुग्लिन-आँबुखैरेनी सडक खण्ड साना गाडी सञ्चालनमा
सडक मर्मतका लागि केही दिन लाग्ने भएकाले ठूला गाडी सञ्चालनमा समस्या
पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिदा पहराे काटेर साना गाडी सञ्चालन गरिए पनि ठूला सवारी साधन भने सञ्चालन हुन सकेका छैनन् ।
आज शनिबार पनि साना गाडी मात्र सञ्चालनमा हुने प्रहरीले जनाएकाे छ । सडक २० फिट भासिएकाे र तत्काल मर्मत कार्य सम्पन्न हुने अबस्था नभएकाे जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएकाे छ ।
आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो भने पहिराेमा ३ वटा सवारी दुर्घटनामा परेका थिए । २ जनाकाे शव फेला परेकाे छ भने एउटा कार र माेटर साइकलकाे केही भाग मात्र भेटिएकाे प्रहरीले जनाएकाे छ ।
घटनामा परि ज्यान गुमाउनेमा गोरखाकाे सिरानचोक गाउँपालिका ५ छोप्राकका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरकाे हेटौंडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेकाे प्रहरीले जनाएकाे छ ।
सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेका अनुसार सडकखण्ड करिब २० मिटर भाँसिएको छ ।
तलबाट उठाउन तत्काल संभव देखिदैन, त्यसैले भित्ता काट्न थालिएकाे छ । भित्तामा पनि कडा चट्टान रहेकाले पूर्ण रूपमा सवारी सञ्चालनका लागि केही दिन लाग्ने भएकाे छ । सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले सडक विस्तारकाे उपयुक्त विकल्पका साथ काम गरिरहेको जनाएकाे छ ।

