एमसिसी सम्झाैताः छिमेकी मुलुकसँगकाे सम्बन्ध तिक्त बन्ने खतरा
नेपालमा जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एम.सी.सी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित नेपालकाे संसदबाट अनुमोदन भएकाे छ । राजनीतिक दलहरूमै समेत व्यापक असहमति रहेता पनि अन्तमा एमसिसी पास हुने अवस्था बन्याे । अफसाेच नै मान्नुपर्छ, नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनितिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ ।
संसदको अंक गणितिय खेल, मुख्य राजनीतिक दलकाे रहश्यमय माैनता जस्ता कारणले एमसिसी पास भएकाे सन्दर्भमा नेपालसँग भुराजनीतिको सवालमा छिमेकी मुलुकहरु माझ संशयकाे वातावरण सिर्जना हुन सक्ने संभावना छ । साथै एमसिसी सम्झौतामा श्रृङखलाबद्द रुपमा धेरै नै विवादस्पद बुँदाहरु रहेका छन् र हाम्रो घरेलु कानुनमाथी हावी हुन पुग्ने खतरा छ । कुनै पनि बाह्य अनुदान अमेरिकी कानुन र नीतिभन्दा माथी हुन नसकेजस्तै एमसिसीका अमेरिकी अधिकारी नेपालको घरेलु कानुनभन्दा सर्बोच्च स्थानमा रहन सक्ने भन्ने हुँदैन तर सम्झौताले नेपालको संविधान, कानुनमाथि नै प्रश्न उठाउने खालकाे अवस्था सिर्जना गरेकाे छ ।
परियोजनामा कार्यरत अमेरीकी अधिकारीले कुनै गलत काम गरेमा उसलाई नेपालको अदालतमा पेश गर्न नपाइने जस्ता गम्भीर बुँदाहरु सम्झाैता उल्लेख छन् । साथै, परियोजनाको अन्तिम अडिट अमेरिकालाई नै हस्तान्तरण गरिनेछ र त्यसमा नेपालको महालेखा नियन्त्रकको कार्यालयबाट कुनै पनि सहभागीता हुन नसक्ने लेखिएको छ । उक्त असमान सम्झौताको ब्याख्या गर्ने पुर्ण अधिकार अमेरिकासँग मात्र निहित रहेको भन्ने जस्ता विवादास्पद बुँदा सम्झाैतामा छन् । जसका बारेमा नेपाली जनालाइ स्पष्ट पार्न जरूरी छ ।
एमसिसीको प्रस्तावक संयुक्त राज्य अमेरिकाले सम्झौताले धेरै मात्रामा रोजगारी सिर्जना गर्ने, भरपर्दो उर्जा प्रवाह गर्ने र यातायातका् क्षेत्रमा न्युनतम शुल्क कायम हुने भनि ठोकुवानै गरेको छ । अझ यसका समर्थकहरु एमसिसीले पुर्वाधार निर्माणमा गर्ने लगानीले सामाजिक बिकासलाई प्रवर्द्धन गर्नेछ भन्दछन् । तर के ती बाचाहरु पुरा हुन सक्छन् त ?
बाचाहरु पुरा हुँदै जाने क्रममा नेपालको सार्वभौमिकतालाई खलल पुग्नेछैन भन्ने ग्यारेन्टी सम्झौताका बुदाहरुले आश्वस्त बनाउन सकेका छैनन् । जसले गर्दा एमसिसी संसदबाट अनुमाेदन गर्ने समयमा हजाराैं युवा लगायत देशभक्त नेपालीहरू विराेधमा उत्रेका थिए ।
हामीले यो पनि बुझन जरुरी छ कि संसदबाट एमसिसी अनुमोदन भइसकेको यस अवस्थामा अमेरिकाले के कस्ता गतिविधी संचालन गर्न सक्ने संभावनाहरु रहेका छन् । सर्वप्रथम, सुरक्षा संवेदनशिलताको कृत्रिम विषय उठान गरेर अमेरीकी सरकारले नेपालमा आफ्नो सैन्य अधिकारीलाई खटाउन सक्ने देखिन्छ । यस प्रकारको गतिविधीले नेपालको छिमेकी देशहरुसङ्ग युगौँदेखी रहि आएको सुमधुर सम्बन्धलाई तिक्ततापुर्ण बनाउने संभावना उत्तिकै छ ।
हाम्रो छिमेकी देशहरुसङ्गको राजनितिक सम्बन्धमा उसले हस्तक्षेप गर्ने मनसाय लिएको प्रष्ट छ । देशभरी हुन सक्ने उसको कुनै पनि सैन्य गतिबिधीलाई हाम्रो नेपालको कानुन र सुरक्षाकर्मीले रोकतोक गर्न नपाइने समेत बुझिन्छ । सच्चा नेपाली देशभक्तहरुले अमेरिकाको बिरोध गरेमा क्रमशः पाखा लगाउन सक्ने संभावना छ । यसपश्चात, अमेरिकाको हितमा हुने गरी अन्य बिबिध कानुनहरु सम्सदबाट सहजै अनुमोदन गराउन सक्ने देखिन्छ ।
हामी नेपाली जनताको इच्छा आकांक्षाहरुमाथी कुठाराघात हुने देखिन्छ । सम्झौतामा भनिए बमोजिम केही मात्रामा रोजगारीको संम्भावनाहरु हुन सक्लान् तर ती अल्पकालीन महत्वका विषय हुन् । परियोजनाका धेरै लगानी स्थानिय उद्धमशिलताहरुमा हुने छैनन् । ती लगानीहरु अमेरीकी, युरोपियन मुलुक र अमेरिका पक्षधर देशहरुका कम्पनीलाई प्रबाहित हुन सक्ने देखिन्छ । यी महङ्गा पुर्बाधारहरुको निर्माण सुसम्पन्न भएको अवस्थामा तीनको सम्रक्षण इत्यादीमा नेपालले बर्षेनी धेरै लगानी गर्नुपर्नेछ ।
हामीले छिमेकीसङ्ग सुमधुर सम्बन्ध कायम राख्न सकेनौ भने इराक, इजिप्ट, अफ्गानिस्तानजस्तै नेपाली भुमी पनि द्वन्दकाे शिकार बन्न सक्ने संभावना रहन्छ । जसलाइ राेक्न सबै देशभक्त नेपाली सचेत बन्न जरुरी छ । अमेरिकी सहायता नियोगले पनि एम.सी.सी लाई अमेरिकाको बैदेशिक सहायताको इतिहासमा मार्सल प्लान र प्रोग्रेसिभ एलायन्स पछिको असाध्यै जटिल र आलोचनात्मक कार्यक्रम भनेको छ ।
अमेरिकाले एमसिसी अन्तर्गत सन् २००४ देखी २०१९ सम्म उसले २९ देशमा ३७ वटा सम्झौता गरेको रहेछ । सन् २०१६ मा अमेरिकाले तान्जानियाको जन्जिबारमा भएको चुनाबमा एम.सी.सी परियोजना रद्द हुन सक्ने चेतावनी सहित हस्तक्षेप गर्ने दुश्साहस गर्यो । ५८ प्रतिशत मत प्राप्त गरी बिजयी भएका तत्कालीन राष्ट्रपति मागाफुलीका बिरुद्द बिपक्षी उम्मेदवारलाई उक्साउन एम.सी.सी मार्फत अमेरिकाकै योजना थियो ।
साथै, फिलिपिन्सका प्रत्यक्ष कार्यकारी राष्ट्रपति रोडृगो दुत्रेतोले आफ्नो देशभित्र भइरहेका लागु औषधले निम्त्याएको हिंसा आतंक अन्त्यका लागि पहलकदमी लिँदा अमेरिकाले मानव अधिकार हनन भएको गम्भिर आरोप लगाउँदै एम.सी.सी परियोजना रद्द गर्ने धम्की दिएको थियो ।
सन् २०१९ मा दुत्रेतोको प्रशासनले दोस्रो चरणको अनुदान लिन अस्वीकार गर्यो । एम.सी.सीपरियोजनाले घानाका किसानहरुको हित गर्ने र कृषि उत्पादनको ब्यबसाय प्रवर्द्धन गर्ने बाहनाका साथमा जलविद्युतको छेत्रमा निजिकरण गर्ने प्रस्ताव पेश गरेको थियो तर त्यहाको सरकारले सन् २०१९ मा अमेरिकाको कुत्सित मनसाय बुझेर सम्झौता रद्द गर्यो ।
हालसम्म एमसिसी परियोजना स्वीकार गर्ने कमै देशले मात्र नवीकरण गरेका छन् । सन् २०१७ देखी अमेरिकाले रणनितिक महत्वका दक्षिण एशियाका दुई देश नेपाल र श्रृलंकालाई लक्षित गरी एम.सी.सी परियोजना प्रस्ताब गर्यो । श्रृलंकाको सरकारले उक्त अमेरिकी प्रस्ताबलाई नयाँ साम्राज्यवाद र सैनिक अखडा स्थापना गर्ने कुत्सित चाहना रहेको भन्दै परियोजना अस्वीकार गर्यो । छिमेकी देश र आफनो पनि हितको कामना गर्दै नेपालले बिगतमा गरेका कोशी सम्झौता, महाकाली सन्धीबाट धोका भइरहेकै सन्दर्भमा पुनस् एम सि सि परियोजनाले नेपालको सार्वभौमिकतालाई खलल पुर्याउन सक्ने देखिन्छ ।

