सभामुखसँग चिनियाँ राजदूत यान्छीकाे शिष्टाचार भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग  शिष्टाचार भेट गर्नुभएकाे छ । सापकाेटासँगकाे शिष्टाचार भेटका लागि राजदूत हाेउ शुक्रबार बिहान सभामुखको सरकारी निवास लैनचौर पुग्नुभएकाे थियाे । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको सभामुख सापकाेटाकाे सचिवालयले जनाएकाे छ ।

भेटमा सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नुभएकाे थियाे ।

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताउनुभयाे । उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गर्नुभएकाे थियाे ।

Facebook Comments