स्थानीय तहमा उम्मेदवार छान्न दलहरूलाइ सकस
बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाउन दलहरूलाइ सकस परिरहेकाे छ । खास गरी पार्टीकाे बलियाे पकड रहेका स्थानमा पार्टीभित्रै धेरैजना आंकाक्षी देखिने गरेका छन् ।
कतिपय स्थानमा दाबी गर्नेकाे संख्या अधिक भएपछि आन्तरिक रूपमा निर्वाचन गरेर उम्मेदवारकाे टुंगाे लगाउनुपर्ने अवस्था रहेकाे छ ।
गठबन्धनका दलहरूवीच चुनावी तालमेलका लागि सहमति भएपनि स्थानीय स्तरमा पार्टी नेता कार्यकर्ताले दाबी नछाड्ने चेतावनी केन्द्र समक्ष दिइरहेका छन् ।
नेकपा एमालेमा कास्कीकाे पोखरा महानगरको मेयरमा १२ जना र उपमेयरमा ११ जनाले दाबी पेस गरेका छन्।
आकांक्षीहरूमा सहमति नभए निर्वाचन प्रक्रियाबाट उम्मेदवार सिफारिस गर्ने हुने बताइएकाे छ। एमालेमा महानगरको मेयर र उपमेयरका लागि ३/३ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने प्रावधान छ।
कांग्रेसमा पनि खासगरी पाेखरा महानगरपालिका, चितवनकाे भरतपुर महानगरपालिका छाड्न नसकिने भन्दै जिल्लाका नेताहरूले केन्द्रका पार्टी नेतासमक्ष बागी उठ्नेसम्मका चेतावनी दिएका छन् ।
यद्यपि गठबन्धनका दलहरूवीच यसअघि जुन पार्टीले जितेकाे क्षेत्र हाे साे पार्टीले नै लिने गरी सहमति भएकाे छ ।

