नयाँ वर्ष २०७९ सुरु, घुमघाम तथा शुभकामना आदानप्रदान गरी मनाइँदै
आजदेखि नेपाली नयाँ वर्ष सुरु भएकाे छ । विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल सुरुवातका दिनमा नेपाली समुदायले एक आपसमा शुभकामना साटासाट गरी हर्षाेल्लासका साथ मनाइरहेका छन् ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिनमा कतिपयले नयाँ नयाँ ठाउँमा परिवार तथा आफन्तजन सहित घुमघामका लागि निस्किएका छन् । नयाँ वर्षमा सफलता सुस्वास्थ्यकाे शुभेच्छा सहित एक अर्कामा शुभकामना व्यक्त गर्ने तथा सँगै भोजन गर्ने, भेटघाट गर्ने लगायतका गतिविधिका साथ आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने तथा नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । सरकारले सार्वजनिक विदा दिएकाे छ ।
धार्मिक आस्था राख्नेले राशी अनुसारका दाेष भएमा मेटाउनका लागि नजिकका नदी, ताल, धारामा स्थान गरी सकेकाे दान गर्ने र राशी अनुसारकाे दाेषबाट मुक्ति हुने विश्वास अनुसार स्नान एवं दान गर्दछन् ।

