एमालेले पाेखरा महानगरपालिकाकाे मेयर र उपमेयरका लागि मतदानबाट उम्मेदवार सिफारिश गर्ने
आकांक्षी धेरै भएपछि नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर र उपमेयरकाे सिफारिश गर्न निर्वाचन गर्ने भएकाे छ । एमाले महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार सिफारिश गर्नका लागि मतदानकाे तयारी स्वरूप निर्वाचनकाे तालिका सार्वजनिक गरेकाे छ।
माथिल्लाे कमिटीका नेताहरू सहित लामो छलफलमा जुटेका महानगरका नेताहरूवीच सहमति नभएपछि शुक्रबार निर्वाचन मार्फत उम्मेदवार छनाैट गर्न लागिएको हो ।
यसअघि आकांक्षीका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत उम्मेदवार बन्नका लागि मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ ।
यसअघि मंगलबार मेयरमा १२ जनाले र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।
आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न सक्नेछन् ।
एमालेकाे गण्डकी प्रदेशमा नेता पृथ्बीसुब्बा गुरूङ र खगराज अधिकारी पक्षका नेताहरूवीच गुटगत प्रतिस्पर्धा छ । साेही कारण उम्मेदवार छनाैटमा समेत सकस भएकाे हाे ।
यसअघि २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिश्पर्धाबाटै मेयर र उपमेयरको नाम सिफारिश गरेकाे थियाे । त्यतिबेला मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट प्राप्त गर्नुभएकाे थियाे । उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याएपनि दोश्रो नम्बरमा सिफारिस हुनुभएकी मञ्जुदेवी गुरुङले टिकट पाउनुभएकाे थियाे ।
अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।
एमालेले पाेखरा महानगरपालिकामा जित्ने संभावना अधिक भएकाे दावी गर्दै एकाे छ । जसका कारण पनि उम्मेदवार बन्नका लागि धेरै जनाले दावी प्रस्तुत गरेका हुन् ।

