चुनावी खर्च राज्यकाेषबाटै बेहाेर्न डा.भट्टराईकाे प्रस्ताव

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन खर्च राज्यकाेषबाट नै बेहाेर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएकाे छ ।

यसअघि पनि निर्वाचन खर्चका सन्दर्भमा यस्तै मत राख्ने नेता भट्टराईले पछिल्लाे समय कांग्रेस नेता शंशाक काेईराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतले ताेकेकाे भन्दा धेरै खर्च भएपनि कम खर्चकाे फाँटवारी बुझाएकाे बताएपछि पुनः यस्ताे धारणा अगाडी सार्नुभएकाे हाे ।

उहाँले पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको बताउनुभएकाे छ ।

चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अघि सार्नुभएकाे हाे ।

‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं- तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने!’

काेईराला र अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण साेधेकाे छ ।

Facebook Comments