नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिता : पौडीमा नयाँ रेकर्ड कायम

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगीतामा १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पुरा गर्दै यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् ।

एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पुरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल बनिन् । पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरुले सहभागीता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए ।

२५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म हुने कार्यक्रमको आइतबार विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफलाई, वटरपलाई व्याक स्टोक र आइ एम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नवौ राष्ट्रिय खेलकूद प्रतियाेगिता : महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो चरणमा आर्मीले सुदुरपश्चिम विरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो । जहाँ आर्मीले १५–३, २२–१० र २४–१२ अंक जोडेको थियो ।

यसअघिको (शुक्रबार) उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको थियो ।

नवौ राष्ट्रिय खेलकूद प्रतियाेगिता : एथलेटिक्सका ७ इभेन्ट सम्पन्न
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् । शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरु सकिएका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न एक हजार ५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए । आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । एपिएफका अजित यादव र नागेश्वर अहिरले कास्य र रजत पदक प्राप्त गरे । अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दुरी पार गरे ।
महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट ३८.१९ सेकेन्ड पुरा गरेकी हुन् । रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले े ५ मिनेट ०३.८० सेकेन्डमा दुरी पार गर्दै कास्यपदक हात पारिन् ।
सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते । तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते ।
१०० मिटर दौडको पुरुषतर्फ एपिएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते । शिवराजले आर्मीका युवराज विकलाइ हराउँदै स्वर्ण जितेका हुन् । युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते ।
महिलातर्फ स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले स्वर्ण पदक सहित राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२.१५ सेकेन्ड समय लगाएकी थिइन् । आर्मीकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२.९३ सेकेन्ड पार गरिन् ।
बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारे महिला १० हजार मिटर दौड स्वर्ण पदक जितेकी छन् । उनले ३६ मिनेट १९.३६ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितिइन् । राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी हुन् ।
सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।

गल्फ : बागमतीलाई तीन स्वर्ण, पुरुषतर्फ आर्मीका तामाङलाई स्वर्ण


नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।


समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो । यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो ।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ ।
महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन । महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।
समूह चरणको प्रतियोगिता अन्तर्गत महिला/पुरुष स्वर्ण विजेता टिमका खेलाडीले स्वर्ण सहित जनही १५ हजार रुपैयाँ पाएका छन ।
व्यक्तिगततर्फका विजेताले स्वर्णसहित २५ हजार रुपैयाँ नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदबाट पाएका छन ।

Facebook Comments