आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिइने

आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन पत्राचार गरेको थियो ।

पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डाेज लगाउन लागिएकाे हाे ।

पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउने मन्त्रालयले जनाएकाे छ ।

दोस्रो चरणमा आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।

पछिल्ला दिनमा काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे छ ।

Facebook Comments