भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी लुम्बिनीमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउनुभएकाे छ । उहाँले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक रूपमा आनन्द अनुभूति हुने गरेको बताउनुभएकाे छ। माेदीलाई गाैतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएकाे थियाे ।  

उहाँले नेपालमा हुने भ्रमणबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको समेत उल्लेख गर्नुभएकाे छ ।

सोमबार लुम्बिनीमा आयोजित २५ सय ६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री माेदीले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताउनुभयाे ।

दुई देशबीच नागरिक स्तरमा समेत घनिष्ठ सम्बन्ध रहेको बताउँदै माेदीले यसअघि जनकपुर भ्रमणका बेला नेपालविना हाम्रा राम पनि अधुरै हुने अभिव्यक्ति दिएकाे स्मरण गर्नुभयाे ।

भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल र नेपाली पनि खुशी हुने उहाँकाे विश्वास थियाे । साथै माेदीले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका साझा भएको बताउनुभयाे ।

मोदीले नेपाल आएलगत्तै ट्विट समेत गर्नुभएकाे छ ।

उक्त ट्विटमा ‘नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरूमाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु।’ भनी उल्लेख छ ।

मोदी र देउवाले लुम्बिनीमा पूजा गर्ने कार्यक्रम छ । द्विपक्षीय वार्तापछि मोदी आजै भारत फर्किने कार्यक्रम छ।  

Facebook Comments